काठमाडौँ,१० भाद्र ।
बितेको चार वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका परिवारलाई आर्थिक सहायता स्वरुप २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी प्रदान गरिएको छ । वैदेशिक रोजगार वोर्डका अनुसार २०७५ साउनदेखि २०७९ असार मसान्त सम्मको अवधिमा मुत्यु भएकाको परिवारलाई उक्त आर्थिक सहायता उपलब्ध गरिएको हो ।
सो चार आर्थिक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ४ हजार १५४ जनाको परिवारलाई कुल २ अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गरिएको वोर्डले जनाएको छ । उक्त अवधिमा ४ हजार ४१ जना पुरुष र ११३ जना नेपाली महिला कामदारको वैदेशिक रोजगारीका क्रममा विदेशी भूमीमा मृत्यु भएको थियो ।
बितेका चार वर्षमा विदेशमा अलपत्र परेका ५५५ जना नेपालीको शव उद्धार गरी ल्याइएको वोर्डले जनाएको छ । उद्धार गरी ल्याइएको शवमा ५३३ जना पुरुष र २२ जना महिलाको रहेको थियो । वोर्डका अनुसार शव उद्धार गरी ल्याउने क्रममा ३ करोड ९७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
विदेशमा मृत्यु भएका नेपालीको शव उनीहरुको घरसम्म पुर्याउने क्रममा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ खर्च भएको वोर्डले जानकारी दिएको छ । यसरी सो अवधिमा वोर्डले कुल ३ हजार ४१ वटा शवको निशुल्क ढुवानी गरेको थियो ।
वोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा अंगभंग तथा गम्भिर विरामी भएकालाई बितेको चार वर्षमा ३१ करोड ९ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति वापत उपलब्ध गरिएको छ । यसरी क्षतिपूर्ति पाउनेमा ९२७ जना पुरुष र ४९ जना महिला गरी कुल ९६७ जना रहेका छन् ।
वैदेशिक रोजगारीमा गएकाहरुको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गराउने कार्यमा पछिल्लो चार वर्षमा २ करोड ८१ लाख ४५ हजार रुपैयाँ खर्च भएको वोर्डले जनाएको छ । सो अवधिमा १ हजार २५९ जना पुरुष र २२९ जना महिला गरी कुल १ हजार ५५४ जनाको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गरिएको थियो ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु वा पूर्ण अशक्त भएका कामदारको ८ हजार ९०१ जना छोराछोरीलाई छात्रवृत्ति सहयोग वापत ७ करोड ५३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |