धुलिखेल (काभ्रेपलाञ्चोक), १३ चैत ।
महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो ।
बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा महाभारत र खानीखोला गाउँपालिका, मण्डदेउपुर नगरपालिका र कोशीपारिका भुम्लु र चौँरीदेउराली गाउँपालिका कफी उत्पादनका निम्ति सम्भावनायुक्त भएकाले स्थानीय तहसँगको साझेदारीमा ती क्षेत्रलाई कफी पकेट इलाकाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यमका रूपमा विकास गर्न सर्वप्रथम बाटो र बिजुलीलगायत पूर्वाधार निर्माण आवश्यक भएकाले पालिकाले त्यसलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षदेखि सामुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकामा यस वर्ष कफी उत्पादन वृद्धिका लागि तालिमको व्यवस्था गरिरहेको बताउनुभयो ।
कृषि विकास कार्यालयले यस वर्ष ४० हजार कफीका बिरुवा वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष सो वडामा प्रदेश सरकारको रु ३० लाख, गाउँपालिका र किसानको रु १०–१० लाख गरी रु ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधि भित्र्याइने जनाएको छ ।
महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले नवीन प्रविधि भित्रिएपछि उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । त्रिदिवसीय तालिममा ९० जना किसान सहभागी थिए ।रासस
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |