धादिङ,०८ असोज ।
धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । डेङ्गु संक्रमितको सङ्ख्या पाँच सय नजिक पुगेको छ । गत साउन १ देखी आज शनिबारसम्मको विवरण अनुसार जिल्लाका २८६ जना पुरुष र २१२ महिला गरी कुल ४९८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।
धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा २५०, गजुरीमा ५६ र त्रिपुरासुन्दरीमा ३० जनामा डेंगु संक्रमण पुष्टि भएको छत्कुलीले बताउनुभयो । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन ।
उहाँका अनुसार गल्छीका २३, धुनिबेशीका २२, ज्वालामुखीका १०, थाक्रेका ८, नेत्रावती डवजोङका ५, सिद्धलेकका ५, बेनिघाट रोराङका ४, रुवीभ्यालीका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ७८ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको छत्कुलीले बताउनुभयो ।
संक्रमितमध्ये केही बिरामी अस्पताल भर्ना भइरहेका छन् भने सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा रहेका छन् ।संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ ।डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् । डेंगु रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीको भनाई छ ।
प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीले आग्रह गर्नुभएको छ । नेपालमा डेङ्गीको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । देशका ७६ जिल्लामा फैलिएको डेङ्गीबाट २२ हजार नौ सय ८८ जना संक्रमित भएका छन् ।
डेँगु रोगको रोकथामको लागि गर्नै पर्ने क्रियाकलापहरु :
१.गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔँ ।
२.पानीको ट्याङकीलाई लामखुटे प्रवेश गर्न नसक्ने गरी ढाकेर राखौँ ।
३.पुरा बाहुला भएको शरीर पुरै ढाक्ने कपडा लागाऔँ ।
४.दिउँसो वा राति सुत्दा झुल प्रयोग गरौ साथै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔँ ।
५.घरको झ्याल ढोकामा जाली लगाऔँ ।
६.घर वरीपरी सफा सुग्घर राखौ र पानी जम्ने खाल्डा खुल्डी पुरौ ।
७.आफु बसोबास गर्ने स्थानमा लामखुटेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान चलाऔँ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |